काठमाडौँ, २० पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, विहार तथा स्तूपको संरक्षण, जीर्णद्धार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । कार्यविधिमा पुरातत्व महत्व रहेका १०० वर्षभन्दा पुराना तथा दुई हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, विहार तथा स्तूपको पुनःनिर्माण आवश्यकताबमोजिम पुरातत्व विभागको पूर्वस्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार)को प्रत्यक्ष संलग्नतामा गरिने व्यवस्था गरिएको छ ।
भूकम्पबाट प्रभावित दुई हजार वर्ग फिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, विहार तथा स्तूपहरुको पुनःनिर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत गर्ने कार्यलाई प्राथमिकता दिइने छ । त्यस्तै १०० वर्ष नपुगेका दुई हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, विहार तथा स्तूपको संरक्षण, जीर्णद्धार तथा पुनःनिर्माण कार्य स्थानीय तहमार्फत गरिने कार्यविधिमा उल्लेख छ ।
भूकम्पबाट क्षति भएका गुम्बाको सङ्ख्या एक हजार ३२० रहेको छ । तीमध्ये पुनःनिर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ८९५ र मर्मतसम्भार गर्नुपर्ने गुम्बाको सङ्ख्या ४०२ रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी बैठकले स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–४ स्थित तिलडाँडा एकीकृत बस्ती र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ स्थित हैबुङ एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ तारामारङस्थित भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप दोरम्बा गाउँपालिका–५ स्थित गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई पनि स्वीकृत गरेको छ ।
-रासस