धादिङको फ्याक्सेमा गोरु जुधाईको चटारो

admin

धादिङ , पुस २२: माघे संक्रान्तिको दिन नजिकिँदै गर्दा धादिङको नीलकण्ठ ५ फ्याक्सेमा गोरु जुधाइ महोत्सबको तयारी तीव्र पारिएको छ । उक्त दिन गोरु जुधाउनकै लागि १६ जना किसानहरुले आफ्नो गोरु आयोजक समक्ष दर्ता गराएका छन । गोरु जुधाउने दिन नजिकिँदै गर्दा किसानहरु पनि उत्साहित भएका छन । आफ्नो गोरुलाई प्रतिद्वन्द्वि गोरु भन्दा बलियो बनाउनका लागि गोरुको स्याहार र खुराक खुवानमा किसानहरु लागि परेका छन । प्रतियोगितामा जित हासिल गर्ने गोरुका धनिले ३ हजार ५ सय पुरस्कार पाउने छन ।

यदि तोकिएको समयमा गोरुहरुबीच हारजित नभएमा भने दुवै गोरुलाई २–२ हजार दिइने छ । र हार्ने गोरुका धनिका लागि पनि गोरुको स्याहारको लागि १ हजार ५ सय दिने व्यवस्था गरिएको पाँचौ गोरु जुधाई महोत्सव आयोजक समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यो वर्षको गोरु जुधाइ महोत्सबमा अन्य आकर्षण पनि थपिएको छ । जसमा लोकल कुखुरा तथा लोकल खसी प्रदर्शनी, उखुको स्वादका साथै उखुबाटै बनेको मसालेदार सख्खरको समेत स्वाद लिन पाइने छ । साथै बिभिन्न हास्य कलाकारहरुको बेजोड प्रस्तुती समेत देख्न पाईने छ ।

 

धादिङको फ्याक्सेलारुई उखुका लागि निकै प्रशिद्ध मानिन्छ

फ्याक्सेको गोरु जुधाइ महोत्सबको इतिहास निकै रोचक छ । हाल गोरु जुधाईमा निकै चर्चित ठाउँ नुवाकोटको तारुका र धादिङको फ्याक्से तत्कालिन समयमा एउटै गाउँ पञ्चायत अन्तर्गत पर्दथे । स्थानियका अनुसार नेपालमा बाइसी चौबिसी राज्य रहेका बेला बझाङ्गी राजाको मामाघर खाल्टे पञ्चायत अन्तर्गत पर्ने तारुका (हाल नुवाकोट) मा थियो । र भान्जा मामाघर आएको अवसरमा भान्जालाई मनोरञ्जन गराउन राजाले गोरु जुधाउन थालेका थिए ।

सोही दिनदेखि माघ १ गते गोरु जुधाउने कार्यलाई निरन्तरता दिइएको थियो । तर पछि तारुकालाई धादिङबाट अलग्याएर नुवकोटमा गाभिएपछि तारुका र फ्याक्सेमा भिन्दा भिन्नै तरिकाले गोरु जुधाउन थालियो ।केहि वर्षदेखि तारुकामा औपचारिक रुपमा नै गोरु जुधाउने महोत्सव सुरु गरियो । तर फ्याक्सेमा किसानहरुको आ–आफ्नै तरिकाले आफु अनुकुल ठाउँमा गोरु जुधाउन थालेपछि यसको आकर्षण घट्दै गयो । \

 

 

तर विगत पाँच वर्षदेखि त्यहाँका युवाहरुले बर्सेनी गोरु जुधाउने कार्यलाई औपचारिकता दिदै महोत्सवकै रुपमा मनाउन थालेका छन । अब किसानले आफ्नो तरिकाले होइन आयोजकसंग समन्वय गरेर गोरु जुधाउन थालेका छन चमेरेगुफा संरक्षण समाज नामक क्लव गठन गरेर यसलाई बर्सेनी निरन्तरता दिदै आइएको छ । अहिले स्थानीय मात्र होइन राजधानी लगाएतका अन्य बिभिन्न जिल्लबाट गोरु जुधाइ महोत्सब हेर्नका लागि मानिसहरु पुग्ने गरेका छन । अघिल्लो वर्षको गोरु जुधाई महोत्सबमा करिब १० हजार मानिसहरु गोरु जुधाएको हेर्न जम्मा भएको आयोजकको दावी छ ।

प्रतिक्रिया