भक्तपुरमा आजबाट तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

admin

भक्तपुर, २६ पुस । तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको छ ।भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको हो । मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरु बनाउने उद्योगहरु आफनै देशमा स्थापना गर्नु पर्नेमा जोड दिए ।

उनले भने, “विदेशी सामान विक्रि गर्नु भन्दा पनि आफ्नै देशमा उत्पादित सामानहरु विक्रि वितरण तथा प्रवद्र्धन गर्नु सके यसले देशको अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै रोजगारमा समेत मद्दत पुग्ने छ ।”विदेशी उत्पादनका सामानहरुले ब्यापार घाटा बढाएको तर्फ सबै पक्ष सोच्नु पर्ने अवस्था आएको समेत उनको भनाई छ ।

प्रतिनिधिसभाका साँसद प्रेम सुवालले मेला सञ्चालन भइरहेको १ सय ८ रोपनी चौर भक्तपुरका जनताकै सम्पत्ति भएको बताए । बिगत देखि नै भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याइरहेको ख्वप कलेजको संरचना विश्वविद्यालय बनाउन पूर्ण रहेको र यो चौरमा ख्वप विश्वविद्यालयका लागि उपयुक्त रहेकाले समेत बिगतदेखि नै सरकारसँग यो चौरको माग भइरहेको बताए ।



पाँच दिनसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहने छ भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहने मेलाका संयोजक माधवप्रसाद प्रजापतिले बताए । भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार बर्षमा मेलाको आयोजना गर्दै आएको उनले बताए । मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए ।

प्रतिक्रिया