वृद्धाश्रमका लागि रु एक लाख सहयोग

कृष्ण रोकाया

पर्वत, ५ माघ: मोदीबेनीमा सञ्चालित ज्येष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।

ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु एक लाख सहयोग गरेको हो । उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको पहलमा प्राप्त भएको हो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैरआवासीय नेपाली सङ्घका सल्लाहकार एवं अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार गोविन्द सुवेदी र नेपाली जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यको रोहवरमा शुक्रबार कुश्मामा आयोजित कार्यक्रममा मोदीबेनी ज्येष्ठ नागरिक आश्रम सञ्चालन समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

सो अवसरमा कुश्मा नगरपालिकाका प्रमुख जोशीले आश्रमका लागि कुश्मा नगरपालिकाको तर्फबाट पनि रु एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोदीबेनीमा पुल बनाउन र कुश्माबाट जाने सडक सहज बनाउन थालिएको पनि उहाँले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घका सल्लाहकार सुवेदीले मोदीबेनीको विकासमा जोडिएको प्रवासी सबै संस्थाले सक्दो सहयोग गर्ने आश्वसन दिनुभयो । निस्वार्थभावले मोदीबेनीको विकासमा प्रवासी नेपालीले सहयोग गर्ने र सहयोगको सही सदुपयोग हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यले मोदीबेनीको वृहत्तर विकासमा थप सहयोग गरिने आश्वासन दिनुभयो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सीता सापकोटाले ज्येष्ठ नागरिक आश्रमको सहयोगका लागि आफूहरु सधँै तयार रहेको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोदीबेनीको बागलुङतर्फ हालै ज्येष्ठ नागरिक आश्रम बनाइएको छ । पर्वततर्फ भने विसं २०६८ देखि नै वृद्धाश्रम सञ्चालनमा छ । हालै दुवैतर्फका सरोकारवाला सम्मिलित संयुक्त सञ्चालक समिति बनाइएको छ । मोदीबेनीमा पुल बनाएर दुवैतर्फको क्षेत्रलाई जोड्ने समितिले प्रयास गरिरहेको छ । पुल बनेपछि पर्वततर्फ आश्रमको नवनिर्मित भवनमा स्थानान्तरण गर्ने योजना रहेको आश्रम सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पर्वत र बागलुङ जिल्लामा फैलिएको मोदीबेनी क्षेत्रको विकासका लागि दुवै जिल्लाका बासिन्दाले प्रतिष्ठाको रुपमा लिएर पूर्वाधार विकासका काम गरिरहेको श्रेष्ठले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टसमेत भवन उद्घाटनमा आउँदा आवश्यक सहयोग गर्ने आश्वसन दिनुभएको थियो ।

प्रवासी सङ्घसंस्थाबाट आर्थिक सहयोग सङ्कलन गरेर वृद्धाश्रम सञ्चालनका लागि अक्षयकोष बनाइएको छ । सञ्चालक समितिका सदस्य केशवदास बैरागीले राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरेर प्राप्त रकम जम्मा गरिरहेको जानकारी दिदैं कोषको रकम बढाएर रु दुई करोड बनाउने लक्ष्य लिइएको बताउनुभयो । उक्त कोषको ब्याजबाट आश्रममा आवश्यक खानपिन, लत्ताकपडा, स्वास्थोपचार सेवा सञ्चालन गर्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो ।

मोदीबेनीमा शालग्राम महायज्ञ सञ्चालन गरेर बागलुङ नगरपालिका–१४ देवलबगरमा वृद्धाश्रम बनाइए पनि सञ्चालनका लागि आर्थिक अभाव भएपछि स्थानीयवासीले देशविदेशमा आर्थिक सङ्कलन गरी सञ्चालन गर्ने खर्च जुटाउने प्रयास गरिरहेका छन् ।

फलेवास नगरपालिका सरकारी भवनमा स्थानान्तरण

स्थापनाकालदेखि नै भाडामा बस्दै आएको फलेवास नगरपालिकाले सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिँचाइ आयोजनाको प्रयोगविहीन भवनलाई मर्मत गरी नगरपालिकाले शुक्रबारदेखि आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको हो । स्थानीय मोती सामुदायिक पुस्तकालयको भवनमा तीन कोठा भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको कार्यालय नयाँ ठाउँमा सञ्चालनपछि सेवाग्राहीलाई समेत सहज हुने भएको छ ।

साँघुरो कोठाबाट कार्यालय सञ्चालन गर्दा व्यवस्थापनमा समस्या भएकाले फलेवास सिँचाइ आयोजनाको भवनलाई प्रयोग गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । नगरपालिकाभित्रै सार्वजनिक सम्पत्ती प्रयोगविहीन भएकाले आफूहरुले प्रयोग गरिएको उहाँको भनाइ छ । मर्मत हुन नसक्दा जीर्ण बनेको भवनलाई नगरपालिकाले मर्मत गरी प्रयोगमा ल्याएको शर्माले बताउनुभयो ।

भाडामा लिएको घरमा विभिन्न शाखा र तिनमा कार्यरत कर्मचारीलाई एउटा टेबलसमेत दिन नसक्दा सेवाप्रवाहमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताउनुभयो । उक्त भवनमा १२ कोठासहित एक बैठक हल व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “अझै पनि कोठा अभाव हुन्छ”, उहाँले भन्नुभयो, “अन्य कोठा व्यवस्थापन गर्न वैकल्पिक व्यवस्थासमेत गर्ने गरी तयारी गरेका छौँ ।”

सोही ठाउँमा खाली जग्गा समेत भएकाले कोठा अपुग भएमा थप अस्थायी संचरना बनाउन सकिने उहाँको भनाई छ । हाल वैकल्पिक व्यवस्थाका लागि उक्त भवन प्रयोग गरिएको र उपयुक्त ठाउँ छनोट गरेर कार्यालय बनाउन समेत कार्यपालिकाले खोजी गरिरहेको फलेवास नगर कार्यपालिकाका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिनुभयो ।

पर्वतका सात स्थानीय तहमध्ये फलेवास र महाशिलाले मात्र सार्वजनिक भवन प्रयोग गरेका छन् । अन्य पालिकाका कार्यालय भाडामा सञ्चालन हुँदै आएका छन् । सङ्घीयताले अधिकार दिए पनि संचरना नहुँदा आफूहरुले समस्या भोग्दै आउनुपरेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताउनुभयो । सङ्घीय संरचनाअनुसार पद्धति सञ्चालन भए पनि सबै संरचना तयार नहुँदा स्थानीय तहहरुले द्रूतगतिमा काम गर्न नसकिएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया