गणतन्त्रको लागि गोली थाप्ने आज यस्तो अवस्थामा, सरकारले ‘जिउँदो सहिद’ घोषणा गर्न नमानेकोमा परिवारको गुनासो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मुकेश कायस्थ ०६२÷०६३ सालको जनआन्दोलनको घाइते हुन्। गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाएर जनआन्दोलनमा जाँदा उनी भर्खर १४ वर्षका थिए। अहिले गणतन्त्र स्थापना भइसकेको छ। देशमा गणतन्त्र स्थापना भए पनि सहिद परिवारले परिवर्तनको महसुस गर्न पाएको छैन । देशमा स्थानीय, प्रदेश र संघीय निर्वाचनपछि तीनै तहका सरकार बनेका छन् । तर, आन्दोलनमा रगत बगाएका मुकेशहरूको अवस्था भने झन् दयनीय बन्दै गएको छ ।

‘त्यतिखेर देशका लागि लडेर मेरो छोराजस्तै धेरै परिवारका छोरा–छोरी घाइते भए, सहिद भए । जनआन्दोलनकै परिणामले देशले लोकतन्त्र पाएको छ, तर हामीले देश परिर्वतनको महसुस गर्न पाएका छैनौँ,’ मुकेशकी आमा मीरा भन्छिन्, ‘मुकेशकै लागि त सरकारले केही गरेको छ । तर, मुकेशजस्तै धेरै घाइते, सहिद र उनीहरूका परिवारको अवस्था निकै दयनीय छ भन्ने सुनेको छु ।’

मुकेशको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । तर, पछिल्लो समय अस्पतालमा उपचार गरेको खर्च दिन स्वास्थ्य मन्त्रालयका सचिवले विभिन्न बहानामा दुःख दिएको आमा मीराले बताइन् । महँगो अस्पतालमा लगेको भनी स्वास्थ्य मन्त्रालयको सचिवले उपचार खर्च व्यहोर्न नसक्ने भनेको उनको भनाइ छ । ‘छोराको उपचारभन्दा ठूलो कुरा अरू के हुन्छ र आमालाई, त्यसैकारण मेडिसिटी अस्पतालमा उपचार गर्न लगियो, तर पछि स्वास्थ्य मन्त्रालयका सचिवले त्यति धेरै रकम सरकारले तिर्न सक्दैन, सरकारी अस्पतालमा उपचार गर्नुपथ्र्यो भने,’ मीराले भनिन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेर घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् । सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ । अस्पतालमा लग्दा पनि उनलाई सामान्य जस्तो व्यवहार गरिन्छ । ‘एक रात त मैले वीर अस्पतालमा बेड नपाएर मेरो छोरालाई बाहिर फोहोर अगाडी नै राख्न बाध्य भए ‘, भक्कानिदै मिराले गुनासो पोखिन् ।

जनआन्दोलनका घाइतेको पुनर्स्थापनाका लागि सरकारले मुकेशको नाममा पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ । यो माग जायज माग पनि हो । मुकेशजस्तै जनआन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनमा घाइते भई अपांगता भएकाको उपचारका लागि छुट्टै अस्पताल तथा पुनस्र्थापना केन्द्रको आवश्यकता रहेको मीराले बताइन् ।

मुकेशलाई ‘जिउँदो सहिद’ भनेर सम्बोधन गरिन्छ । यो जनस्तरबाट घोषणा भएको हो । सरकारले नै मुकेशलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने परिवारको माग छ । ‘सरकारले क्याबिनेटबाटै जिउँदो सहिद घोषणा गर्नुपर्छ,’ आमा मीराले भनिन् । सरकारले मुकेशलाई शतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ । त्यसबाहेक अन्य सम्मान गर्न नसकेको उनले बताइन् ।

अहिले जिउँदो सहिद मुकेशको यस्तो छ दिनचर्या। बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया