क्यान्सरका बिरामी बढ्दै

कृष्ण रोकाया

बेझाड, २६ माघ :पाल्पा जिल्लामा क्यान्सर रोगका बिरामी बढ्दै गएको पाइएको छ । क्यान्सर रोगीमध्ये महिलाको सङ्ख्या बढ्दो रहेको छ । आव २०७४÷७५ मा ११३ क्यान्सर रोगका बिरामीमध्ये ६७ महिला रहेका छन् भने ४६ पुरुष फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

आव २०७३÷७४ मा महिला ४८ र पुरुष ३४ गरी जम्मा ८३ क्यान्सर रोगका बिरामी भेटिएको छ । दुई वर्षको तथ्याङ्कलाई हेर्दा क्यान्सर रोगबाट महिला बढी पीडित रहेको पाइएको छ । सुर्तीजन्य, मादकपदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनु, महिलामा छिटोछिटो बच्चा जन्माउनु, उमेर नपुग्दै आमा बन्नु, सरसफाइमा ध्यान नदिनुजस्ता कारणले क्यान्सर रोग लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

महिलामा पहिलो स्तन क्यान्सर, दोस्रोमा पाठेघरको क्यान्सर र पुरुषमा घाँटी, मुखमा बढी क्यान्सर रोगले आक्रमण गरेको पाइन्छ । अहिले सरकारले क्यान्सर रोगका बिरामीका लागि उपचार खर्चबापत रु एक लाख रकम उपलब्ध गराउन थालेपछि पाल्पामा क्यान्सर रोगको उपचार गर्ने बिरामी बढेका छन् ।

क्यान्सर रोग लागेको पहिलो र दोस्रो चरणमा नै उपचार गरियो भने यो रोगबाट बच्न सकिन्छ । दोस्रो चरण पार गरेपछि तेस्रो र चौँथो चरणमा पुगेका बिरामीलाई बचाउन समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । पाल्पा जिल्लामा क्यान्सर रोग भए नभएको पत्ता लगाई क्यान्सर रोग लागेमा उपचारका लागि भरतपुर र काठमाडौँ पठाउने गरिन्छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेमा र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने क्यान्सर विज्ञको भनाइ छ ।

चार दिन पाल्पा बुटवल सडक बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म आजदेखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो ।

भौगर्भिक सर्भेक्षणका लागि आजदेखि चार दिनसम्म तीन किलोमिटर सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङ् निर्माण अध्ययनका लागि दुई महीनादेखि यस सडकको सर्भेक्षण गर्ने काम भइरहेको छ ।

माघ २६, २७ र २८ गते बिहान ९ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि मध्यान्ह्न १२ बजेसम्म, दिउँसो २ बजेदेखि ३ बजेसम्म, ४ बजेदेखि ५ बजेसम्म आंशिक रुपमा सडक बन्द हुनेछ । माघ २९ गते बिहान ९ बजे देखि ९ः३० सम्म, १०ः३० देखि ११ बजेसम्म, मध्याह्न १२ बजेदेखि १२ः३० सम्म, दिउँसो २ः३० देखि ३ बजे र ४ बजेदेखि ४ः३० बजेसम्म सडक बन्द गरी सर्भेक्षण गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

बन्द रहेको रेडियो रामपुर पुनः प्रसारण शुरु

केही दिनअघि परेको चट्याङले बन्द रहेको सामुदायिक रेडियो रामपुर आजबाट नियमित प्रसारण शुरु भएको छ । चट्याङका कारण ट्रान्समिटर, मिक्चर, टेलिफोनमा क्षति पुगेपछि रेडियो बन्द भएको हो ।

गत माघ २२ गते बिहानदेखि बन्द रहेको रेडियो आज बिहान ९ बजेबाट नियमित प्रसारण शुरु भएको छ । रेडियो बन्द हुँदा गण्डकीबेँसी क्षेत्रका नागरिक सूचनाबाट वञ्चित बनेका थिए । समुदायका गतिविधि, समाचार, सूचना आवाजलाई प्रसारण गर्ने गण्डकीबेँसी क्षेत्रको सामुदायिक रेडियो रामपुर पहिलो रेडियो हो । रासस

प्रतिक्रिया