जबर्जस्ती करणी गर्ने दुई पक्राउ

कृष्ण रोकाया

रत्ननगर, २६ माघ : पूर्वी चितवनको सौराहामा १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोहल्वी नगरपालिका घर भई सौराहामा डेरा गरी बस्ने २२ वर्षीय अजय कुमार र ३० वर्षीया गङ्गा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरी बालिकालाई ललाइफकाई दुवै जनाले जबर्जस्ती करणी गरी चार किमी पर सौराहाको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञावलीले जानकारी दिनुभयो ।

पीडितकी आमाले प्रहरीलाई सूचना दिएको साढे एक घण्टाभित्र जबर्जस्ती करणीमा संलग्नलाई पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो । टाँडी प्रहरीले पछिल्लोपटक हिंसा र आपराधिक घटनालाई नियन्त्रण गर्ने अभियान चलाएको छ । तैपनि यस्ता खालका घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने गरिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञवालीका अनुसार जबर्जस्ती करणी घटना संलग्न सातलाई कारवाही गरिएको छ ।

गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो

गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ । रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो ।

गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताउनुभयो । सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो । गैँडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद् भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताउनुभयो । रासस

प्रतिक्रिया