कपिलवस्तु, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को विकासका लागि आफूले सार्वजनिक रुपमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । विजयनगर गाउँपालिकामा आज आयोजना गरिएको मुसायरा कार्यक्रममा गाउँपालिकाले दिएकोे ज्ञापनपत्र बुझ्दै उहाँले जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गाउँपालिकाको आयोजनामा ‘सुन्दर एवम् विजयनगरका लागि बृहत् सांस्कृतिक कार्यक्रम’ भन्ने नाराका साथ सञ्चालन भएको बृहत् कवि सम्मेलन एवम् मुसायरामा पूर्वप्रधानमन्त्री दाहाललाई गाउँपालिकाको विकासका लागि माछा तथा बेमौसमी तरकारी क्षेत्रको ‘सुपरजोन’का रुपमा विकास गरी पछाडि परेको क्षेत्रको विकासमा टेवा पु¥याउन गाउँपालिका अध्यक्ष गोपाल थापाले अनुरोध गर्नुभयो । जवाफमा अध्यक्ष दाहालले गाउँपालिकाको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने र निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रयासमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तुमा कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि जग्गा अवलोकन गरेकाले छिट्टै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै कपिलवस्तुमा सिँचाइका लागि २०० स्यालो ट्युववेलको काम शुरु भएको बताउनुभयो । कपिलवस्तुलाई बुद्धपरिपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएकाले पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सांसद हृदयेश त्रिपाठीले कपिलवस्तुको विकासको मुख्य आधार राष्ट्रिय योजनामा परेपनि बन्न नसकेका सडक तथा नौमुरे जलविद्युत् तथा सिँचाइ आयोजना भएको भन्दै त्यसको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
-रासस