कानूनको निर्माणसँगै मौनताको अन्त्य

admin

काठमाडौँ, १० फागुन  : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त आचार्यले महिलाको अधिकारसम्बन्धी कानूनको निर्माणसँगै मौनताको अन्त्य हुँदै गएको बताउनुभएको छ । ‘लैङ्गिक हिंसाको अन्त्य आजको आवश्यकता, समृद्ध राष्ट्र निर्माणमा युवाको सहभागिता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा अन्त्यका लागि विद्यमान कानूनी व्यवस्था विषयको अखिल नेपाल महिला सङ्घ केन्द्रीय हिंसाविरुद्धको अभियान र अखिल नेपाल केन्द्रीय युवा समितिले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री ढकालले महिला कानूनको निर्माण र चेतनाको स्तर वृद्धिसँगै कानूनी निकायमा धाउन थालेको बताउनुभयो । 

“महिला र पुरुषबीचको विभेदमा समयानुकूल परिवर्तन हुँदै आएको छ”, उहाँले भन्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले आजको क्रान्ति अधिकार प्राप्ति नभई उपभोग र आर्थिक क्रान्तिको रहेको बताउनुभयो । महिलालाई आयआर्जनका क्षेत्रमा जोड्न सहकारीमार्फत थुप्रै सहजता ल्याइएको उहाँले जानकारी दिनुभयो । 

 

अखिल नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष गोमा देवकोटाले महिला र पुरुषबीच एकरुपता ल्याउन विभिन्न सङ्घसंस्था मात्र नभई मिडिया र महिला स्वयंको पनि सहयोग आवश्यक रहेको बताउनुभयो । सङ्घका सचिव विष्णु ओझाले धर्मग्रन्थमा समेत महिलालाई विभेद गरिएको छ भन्दै सामाजिक र सांस्कृतिक चिन्तनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।  

-रासस

प्रतिक्रिया