काठमाडौँ, १६ वैशाख: राष्ट्रियसभाको आजको बैठकले गत चैत १७ गते बारा र पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको हो । बैठकले पूर्वसांसद एवं सभासद् भिक्षु अश्वघोष महास्थविर, दीवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
विसं २०४८ को राष्ट्रियसभाका सदस्य एवं बुद्ध धर्म र दर्शका ज्ञाता भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा गत चैत २२ गते निधन भएको थियो । त्यस्तै २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएको थियो । विस २०४८ मा काँग्रेसको तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा शर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएको थियो थियो ।
त्यस्तै २०४८ र २०५६ सालमा काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका शालिन, भद्र र समाजवादी नेता ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । राष्ट्रिसभाको अर्काे वैशाख २० गते साँझ ५ः३० बजे बस्नेछ । रासस