अवरुद्ध गोठीज्युला–कालाकाँडा सडक सञ्चालन

रिता घिसिंग

जुम्ला : चार महीनादेखि अवरुद्ध जुम्ला सिञ्जाको गोठीज्युला–कालाकाँडा गम्था सडकखण्ड सोमबारदेखि सञ्चालन भएको छ । जुम्लाको सिञ्जा गोठीज्युलादेखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगुतर्फका नेताले आसपासका बस्तीमा विकास निर्माणका काम गरिदिने सहमति गरेका र अहिले सडक आसपास रहेका सिञ्जा कनकासुन्दरी गाउँपालिका–३ मा पर्ने लुम, गौरी, ओखरपाटा, बुडु, माझ बुडुलगायतका बस्तीमा सडक जोड्ने सहमति भएपछि स्थानीयवासीले सडक अवरोध हटाएका हुन् ।

दुई महीना हिमपातले अवरोध भएको सडक हिउँ पग्लिएर खुल्ने बेला आफ्ना माग पूरा नभएको भन्दै लुमका स्थानीयवासीले अवरोध गराएका थिए । सडक चार महीनासम्म अवरुद्ध हुँदा मुगुको खत्याड गाउँपालिकाभरि दैनिक उपभोग्यवस्तुको चरम अभाव सिर्जना भएको थियो भने निर्माण सामग्री सबै गोठीज्युलामा रोकिएपछि विकास निर्माणका कार्य ठप्प भएका थिए ।

सोमबार बिहान जुम्ला र मुगुका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्रदेश तथा प्रतिनिधिसभाका सदस्य सडक अवरोध भएको स्थानमा पुगेपछि स्थानीयवासीसँगको छलफल र संवादपछि सडक आसपासमा रहेका गाउँबस्तीमा सडक सञ्जाल जोड्ने, अबदेखि सडक अवरोध नगर्ने, सडक अवरोध गर्नेलाई कानूनी कारवाही गर्ने सहमति भएपछि सडक सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

सडक र भौतिक पूर्वाधार विकासका लागि प्रदेश तथा सङ्घीय सरकार तथा स्थानीय सरकारबाट पर्याप्त बजेट व्यवस्था गर्ने प्रतिबद्धता दुवै जिल्लाका प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यले प्रतिबद्धता जनाएपछि स्थानीयवासी सडक खोल्न सहमत भएका हुन् ।

वार्ता र छलफलका लागि मुगुबाट प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रतिनिधिसभा सदस्य मोहन बानियाँसहितको टोली गोठीज्युला पुगेको थियो भने जुम्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रदेशसभा सदस्य पदम रोकायासहितको टोली गोठीज्युला पुगेको थियो ।

प्रतिक्रिया