काठमाडौँ, २२ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले आज आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिले मात्रै देश विकास सम्भव हुने भएकाले सरकाले उक्त प्रविधि ल्याउन लागेको बताउनुभयो ।
कसैको भरमा देश नबन्ने भन्दै उहाँले स्वदेशकै युवा जमातले समस्याको समाधान गर्ने आधुनिक प्रविधिसहित राज्यका सबै निकाय एक भएर विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा भएको स्रोत साधनको प्रयोग गर्नुस्, परस्परागत सोचभन्दा माथि उठेर काम गर्नुहोस्, त्यसका लागि सहयोग गर्न सरकार तयार छ ।”
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले देशले परिवर्तन खोजेको हुनाले त्यसका लागि तीन तहबाट युवा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले देशको हरेक समस्याको समाधान युवा पुस्ताबाट मात्रै सम्भव हुने बताउनुभयो । रासस