राजधानीबाटै समातिए पाकिस्तानी दुई चोर

admin

काठमाडौँ, २० असार : नेपालीभूमीमा पहिलो पटक विदेशी चोर पक्राउ परेका छन् । त्यो पनि सुन, चाँदी, गरगहना वा लत्ताकपडा नभई डलर चोरी गरेको अभियोगमा पाकिस्तानी दुई चोरलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाकिस्तान इस्लामावादका ३२ बर्षीय मोहसिन खान र ३१ बर्षीया पूजा मोहसिन खान रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर-२३, झोँछेस्थित राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनि एक्सचेन्चमा साउदी रियाल साट्ने बहानामा उनीहरु त्यहाँ पुगेका थिए । तर त्यहाँ पुगेपछि विदेशी मुद्रा चोरी गरी एकाएक उनीहरु फरार भए । पीडित विदेशी मुद्रासहित चोरी भएको भन्दै उजुरी बोकेर अपराध महाशाखा पुगे । त्यसपछि अपराध महाशाखाले उनीहरुलाई खोजी गर्न सुरु गरेको थियो ।

सोही क्रममा अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई भक्तपुर दरबार स्क्वायरस्थित रहेको स्विट होम होटलमा फेला पारि पक्राउ गरेको हो । पीडित श्रेष्ठका अनुसार पाकिस्तानी ति दुई नागरिकले मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरी गरेका थिए । चोरी अभियोगमा पक्राउ परेका उनीहरु चोरी काण्डमै यसअघि पनि पक्राउ परेका थिए ।

भारतीय फेक करेन्सी काण्डमा पनि सवैभन्दा बढी पाकिस्तानी पक्राउ पर्ने गरेका छन् । अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरुले गत ०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रनोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुर ठिमी लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

तर उक्त घटनामा उनीहरुले ५०-५० हजार रुपैयाँ धरौटी तिरेर छुटेको बताइएको छ । प्रहरीले उनीहरुलाई पाकिस्तानी दुई चोरलाई म्याद थपेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरुको भिषा भएको वा नभएको त्यसबारेमा पनि अनुसन्धान गरेर अध्यागमन विभागलाई बुझाउन सक्छ । अध्यागमनले चाहेको खण्डमा कहिल्यै आउन नसक्ने गरी देश निकाला गर्न सक्छ । तर उनीहरुको भिषा रहेका कारण डिपोर्ट भने नहुने तर उनीहरुलाई फौजदारी मुद्दा चलाउन मिल्ने एसएसपी थापाले बताए ।

प्रतिक्रिया