छुरा प्रहार गर्ने चार जना पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० असार : नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए । घाइते दुवैको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा दुवै पक्षका व्यक्ति लागुऔषध सेवन गरेको र उक्त अवस्थामा एकापसमा झगडा गरी चक्कु प्रहार गरेर घाइते बनाएको अनुसन्धानमा खुलेको प्रवक्ता बोगटीले बताउनुभयो । घटनामा प्रयोग गरेको चक्कुसमेत प्रहरीले बरामद गरिसकेको छ ।

प्रतिक्रिया