अनुदानमा कृषकलाई हाते ट्र्याक्टर

कृष्ण रोकाया

वामी, २० मङ्सिर : गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताउनुभयो ।

महोत्सवमा आर्थिक सहयोग थपिँदै झण्डै रु एक करोड सङ्कलन

बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिकरुपमा आर्थिक सहयोग रकम थपिँदै गइरहेको छ । महोत्सवको पाँचाँै दिन अर्थात् बुधबारसम्म नगद चन्दा प्रतिबद्धता, धान सुनलगायतबाट गरी कूल रु ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसीभुजी जनता क्याम्पस ढोरपाटन बुर्तिवाङका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताउनुभयो ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजीलाई सुविधा सम्पन्न क्याम्पस बनाउन शैक्षिक तथा धार्मिकोत्सवको आयोजना गरिएको हो । महोत्सव मङ्सिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख आर्चायले बताउनुभयो ।राससस

प्रतिक्रिया