अाज शतबीज छर्ने दिन, पशुपतिलगायत शिवालयमा दीपदान गर्नेको रातिदेखि नै भीड

admin

काठमाडौँ, २० मङ्सिर : अाज बाला चतुर्दशी । मृतकका नाउँमा शतबीज छरी पितृउद्धार गर्ने दिन । अाजकाे दिनलार्इ कृष्ण चतुर्दशी पनि भनिन्छ ।बालाचतुर्दशी नेपालमा मानाइने एक परम्परागत पर्व हो । जुन विभिन्न मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।

प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयहरुमा महादीपदान गर्ने चलन रहेकाे छ । साेही अनुसार बुधबार राति पनि पशुपतिलगायत देशभरिका शिवालयमा भक्तजनको ठूलाे भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बुधबार बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बसेका हुन् ।

यस वर्ष बाला चतुर्दशीमा पशुपति आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए । बुधबार राति महादीपदान गर्ने र भोलिपल्ट अर्थात अाज बिहीबार बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ । त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका थिए भने अाज शतबीज छर्दैछन् ।

के हाे शतबीज, किन छर्ने ?
बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् ।

पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन्- ‘सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।’नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।

प्रतिक्रिया