एक सातामा दुई पटक सगरमाथा आरोहण, आफ्नै कीर्तिमान तोडे कामीरिताले

admin

काठमाडौं, जेठ ७ : साहसिक आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेका छन् । यही जेठ १ गते २३औं पटक सगरमाथाको आरोहण गरेका शेर्पाले एकसातामै आफ्नै कीर्तिमान तोडर नयाँ कीर्तिमान बनाएका हुन् । शेर्पाले मंगलबार बिहान ६ः३८ बजे सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शेर्पा बिहानै सगरमाथा आरोहण गरेर फर्कंदै छन् । उनले भारतीय टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका हुन् । शर्पाले जेठ १ गते बिहान ७ः५० बजे २३औं पटक सगरमाथाको चचुरोमा पाइला टेकेका थिए । एकसाता नबित्दै फेरि सगरमाथा चुचुरो पुग्न सफल भएका हुन् ।

उनले यो सिजनमा दुई पटक आरोहण गर्ने घोषणा पनि गरेका थिए । उनको आरोहणको व्यवस्थापन सेभेन समिट्स ट्रेक्सले गरेको हो ।सोलुखुम्बुको खुम्बु, पासाङल्हामु ५ थामेका ४९ वर्षीय शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका थिए । उनले सन् १९९८ मा पहिलोपटक गाइडकैरुपमा सगरमाथा आरोहण गरेका थिए ।

त्यसपछि उनले २००९, २०१० र २०१३ मा एकै सिजनमा तीन पटकसम्म सगरमाथाको शिखर पुगे । यो पटक पनि शेर्पा गाइडकैरुपमा सगरमाथा शिखर पुगेका हुन् । कामीरिताले २५ औं पटक सगरमाथा आरोहण गरेर आराम गर्ने योजना बनाएका छन् ।यसअघि २१ पटक सगरमाथा चढेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् । कामीरिताले यी दुई आरोहीलाई पछि पार्दै २२ पटकको कीर्तिमान बनाएका थिए । उनले यस वर्ष आफ्नै कीर्तिमानलाई तोड्दै २३ औं र २४ औं पटक सगरमाथा आरोहण गरे ।

मंगलबार १२२ जना सगरमाथा आरोहण गर्ने तयारीमा थिए । कतिले आरोहण गरे भन्ने विवरण भने आउन बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । सगरमाथा आरोहणका लागि यो सिजनमा ४८ देशका ३८१ आरोही पर्यटन विभागबाट अनुमति लिएर गएका छन्। सगरमाथा आरोहणका लागि विभागबाट ४४ टिमका ३०४ पुरुष र ७७ महिलाले अनुमति लिएका छन् । अनुमति लिएर सगरमाथा जानेमा ३७ टीमका ३६७ विदेशी रहेका छ भने ७ टीमका १४ आरोही नेपाली छन् ।

प्रतिक्रिया