औद्योगिक वातावरण निर्माण गर्न गृह मन्त्रालयको आग्रह

admin

काठमाडौँ, २ असार: गृह मन्त्रालयले उद्योग क्षेत्रमा प्रयोग हुने कच्चापदार्थ उद्योग परिसरसम्म निर्बाध रुपमा सञ्चालन गरी औद्योगिक वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई पूरा गर्न सबै प्रकारका मालवाहक ढुवानीका साधनबाट औद्योगिक कच्चापदार्थ उद्योग परिसरसम्म निर्बाध रुपमा आवागमन गरी उद्योगमैत्री वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेको हो ।

मन्त्रालयले भन्सारमा चेकजाँच गरिसकेका कच्चापदार्थ बोकेका सवारी साधनलाई नेपाल प्रवेशपछि सडकमा गुड्ने क्रममा जथाभावी दुःख हैरानी दिने गरेको गुनासो मन्त्रालयमा आएको भन्दै उक्त गुनासो सम्बोधन गर्नका लागि स्थानीय प्रशासनलाई पत्राचार गरेको हो ।

प्रवेश नाकामा मालवाहक ढुवानीका साधनलाई सम्बन्धित प्रवेश विन्दुमै राजश्व, भन्सार, क्वारेन्टाइन, सीमा प्रहरी, सीमा सशस्त्र प्रहरीसमेतका निकायबाट कानूनबमोजिम जाँच हुने भएकाले त्यसपछि जथाभावी जाँच गरेर दुःख नदिन प्रशासनलाई निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कुनै पनि मालवाहक सवारी साधनमा गैरकानूनी तवरले सामान ओसारपसार भएको आशङ्का लागेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बद्ध निकायले जुनसुकै समय र जुनसुकै स्थानमा जाँच गर्न सक्ने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया