औलो प्रभावित क्षेत्रमा किटनाशक झुल

admin

बाजुरा, ५ माघ: बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रुपमा औलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९०० झुल वितरण गर्न लागिएको हो । 

मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्नेक्रम बढिरहेको र गाउँमा औलोको संक्रमण देखिन थालेकाले पूर्वसावधानीका लागि झुल वितरण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । 

 

किटनाशक एलएलआइएन नामक झुल जिल्लाको बूढीनन्दा नगरपालिका–१ देखि ७ सम्म र हिमाली गाउँपालिकाको वडा नं ६ मा वितरण गर्न लागिएको डा विश्वकर्माले बताउनुभयो । उक्त नगरपालिकाको १ देखि ७ वडासम्मका लागि सात हजार ६५० र हिमाली गाउँपालिकाको वडा नं ६ मा दुई हजार २५० झुल वितरण गर्न लागिएको हो । तीन वर्षसम्म लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्न झुलले मद्दत गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । किटनाशक एलएलआइएन झुल नेपाल सरकारले लाइफ टाइम नेपालको प्राविधिक सहयोगमा वितरण गर्ने फिल्ड सुपर भाइजर चन्द्रमणि सुनारले जनकारी दिनुभयो । 

-रासस

 

प्रतिक्रिया