क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश

admin

मड्रिड, ८ कात्तिक: स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरु विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ । गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरुलाई दोषी आरोपित गरेको थियो । सरकारले दोषी भन्दै जेलमा राखेका नौ जना पूर्व नेताहरू विरुद्ध मुद्धा प्रक्रिया अगाडी बढाउन बिहीबार अदालतले आदेश दिएको हो ।

क्याटलोनियाका पूर्व उपप्रमुख ओरिओल जुन्क्वेरालगायतलाई राज्यद्रोह गरेको आरोपमा सरकारले काराबासमा राखेको हो । सरकारको आरोप पुष्टि भएमा उनीहरूलाई २५ बर्षसम्मको जेल सजाय हुनेछ । तर क्याटलोनियालाई स्वतन्त्र राज्य घोषणा गराउन महत्वपूर्ण भूमिका खेलेका त्यस क्षेत्रका पूर्व प्रमुख कार्लस पुज्डेमोनलाई भने यस आदेशले नछुने भएको छ । उहाँ सरकारले पक्राउ गर्ने संकेत पाएपछि बेल्जियम निर्वासित हुनुभएको र सरकारले पक्राउ गर्न नसकेकाले उहाँलाई यस आदेशले नछुने भएको हो ।

अदालतको आदेशमा सरकारले नियन्त्रणमा लिएर जेलमा राखेकाहरुलाई मात्रै मुद्धा लगाउन भनिएको समाचारमा जनाइएको छ । जनमत संग्रहपछि बनेको क्याटलोनियाको संसदले गत बर्षको अक्टोबर २७ तारिखका दिन क्याटलोनियालाई स्वतन्त्र राज्य घोषणा गरेको थियो । त्यस अगाडी र पछाडी क्याटलोनियामा ठूला हिंसात्मक घटनाहरु पनि भएका थिए । यसलाई स्पेनको इतिहासमा सन् १९७५ पछिको सवैभन्दा खराब राजनीतिक अवस्थाको संज्ञा दिइएको छ ।
पूर्वनेता जुन्क्वेरासहित मुद्धा लाग्ने पूर्व नेताहरूमा क्याटलोनियाको संसदका पूर्व अध्यक्ष कार्म फोर्काडेल र तत्कालिन क्याटलोनिया सरकारका पाँच सदस्यहरु पनि रहेका छन् ।
-रासस÷एएफपी

प्रतिक्रिया