चौदण्डीमा बृहत् आलुखेती सञ्चालन

कृष्ण रोकाया

गाईघाट, २८ पुस: उदयपुरको चौदण्डी गढी नगरपालिकामा बृहत् रुपमा आलुखेती सञ्चालन भएको छ । नगरपालिकाका विभिन्न वडाका झण्डै ५०० भन्दा बढी कृषकले चौदण्डी नगरपालिकाको सहयोगमा यसपटक ९० टन आलुको बीउ प्रयोग गरेर बृहत् आलु खेती शुरु गरेको चौदण्डी नगरपालिकाले बताएको छ ।

चौदण्डीको वडा नम्बर ३ को हँडिया क्षेत्र, सुन्दरपुर, वडा नम्बर ५ को बसाहा तथा सुधारे, शरिबारे, बेल्टार रानीबास, भिमाहा र ज्यामिरे क्षेत्रमा नगरपालिकाले आलु खेतीको लागि यस पटक रु २० लाख लगानी गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभएको छ ।

कृषकले नगरमा हजार टनसम्म आलु उत्पादन गर्ने लक्ष्य रहेको समेत प्रमुख राई बताउनुहुन्छ । नगरका कृषक र जनतालाई बाहिरी तरकारी आयात कम गरेर नगरलाई तरकारी आत्मनिर्भर बनाउन नगरपालिकाले ५० प्रतिशत आर्थिक अनुदान र ५० प्रतिशत कृषकको लगानीका बृहत् आलुखेती शुरु गरेको नगरपालिकाले बताएको छ ।

चौदण्डी–३ हँडियाका एक आलु उत्पादक कृषक दुर्गानन्द चौधरी भन्नुहुन्छ, “नगरपालिकाले ५० प्रतिशत आलु उत्पादनको लागि आर्थिक अनुुदान दिएको र कृषकलाई आलु उत्पादन गर्न प्रोत्साहन गरेपछि यस क्षेत्रका सबै कृषक आलु खेतीमा लागेका छौँ, आलु उत्पादन राम्रो हुने अपेक्षा छ ।”

उत्पादित आलु खरीद तथा बिक्रीको लागि पनि नगरपालिकाले सहयोग तथा पहल गर्ने भएपछि यस क्षेत्रका कृषक बृहत् आलुखेतीतर्फ आकर्षित भएका हुन् । नगर अधिकृत तारामणि राईका अनुसार नगरपालिकालाई आलु क्षेत्र तथा तरकारी क्षेत्र बनाएर अब तरकारीमा आत्मनिर्भर बनाउन यो अभियान चलाएको अधिकृत राईले बताउनुभयो । रासस

प्रतिक्रिया