झापामा करदाता बढे

कृष्ण रोकाया

भद्रपुर, ७ भदौ : झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।



चालू आर्थिक वर्षको साउन महीनामा मात्र व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या छ हजार ७३ थपिएको छ भने व्यावसायिक प्यान नम्बर लिने ९२५ थपिएका छन् । झापाको माईपूर्व क्षेत्र, इलाम, ताप्जेजुङ र पाँचथरका सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् । दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले माईपश्चिम पाँच स्थानीय तहमा सेवा पु¥याउँदै आएको छ ।

भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको सङ्ख्या ३१ हजार ६४० रहेको छ । झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको सङ्ख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा जम्मा करदाता ८८ हजार ९८१ रहेका छन् ।रासस

प्रतिक्रिया