झुक्काएर तोडेको अनशन मान्दिन भन्दै नर्स डिकी शेर्पा बनिन् आक्रोशित, नर्सहरुको चल्यो रुवावासी (भिडियो)

मनिषा थापा

भक्तपुर : मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्। सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएपनि त्यस अनुरुप कार्य नभएको भन्दै मानव प्रत्यारोपण केन्द्रमा नर्सहरु फेरी अनशन बसेका छन्। यसैबीच  पुन अनशन बसेकी नर्स डिक्की शेर्पा निकै आक्रोशित बनेकी छिन्।

उनी आक्रोशित हुँदै भनिन् , ‘ जसको हातमा सिप छ उसलाई काम गर्ने बातावरण छैन। नर्सको समस्या सुन्ने संस्था नर्सिङ संघले पनि अहिले पेशा भन्दा राजनितिलाई प्राथमिकता दिँदा नर्सिङ पेसा धरापमा परेको छ ।’

नर्स डिकी शेर्पाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई निन्द्रा लाग्ने औषधि खुवाइएको थियो । सोही समयमा अनसन तोडाउन जुस खुवाएको र आफू होसमा नभएको बेलामा गरिएको सहमति मान्य नहुने र नर्सको माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने उनको भनाई छ ।सोमबार अस्पतालको अबस्था निकै तनावग्रस्त बनेको थियो। उनको अबस्था झनै बिग्रिदै गएको छ। 

भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएकी नर्स त्रजिना जतिको पुनर्बहाली लगायतका ११ बुँदे माग राखेर देशभरका नर्सहरु पुस २६ गतेदेखि आन्दोलनमा थिए। विगत केही वर्षदेखि नर्सहरुलाई रोजगार पाउन परेको समस्या र यहि समस्याको फाइदा उठाउदै नर्सहरुको श्रम शोषण भएको नर्सहरुको आरोप छ।

गत शुक्रबार मन्त्रालयमा उनीहरुले निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई घेराउ गरी समस्या समाधानको पहल गर्न आग्रह गरे। तर, आन्दोलनरत नर्सलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो।अस्पताल प्रशासनले नर्सहरुले राखेको विभिन्न मागलाई वेवास्त गरेपछि नर्सहरु अनसन बस्दै आएका थिए ।

प्रत्यारोपण केन्द्रका नर्सले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने नर्सहरुले माग राखेका छन् ।

समाजवादी नेपालका केन्द्र सदस्यले भने, ‘लोक सेवाबाट खुला प्रतिस्पर्धामा पास भएर आउनेले मात्र नभई यहाँ काम गरेका तर लोकसेवामा नाम निकाल्न नसक्नेलाई पनि करारमा राख्ने सहमति भएको छ। तर पनि उहाँहरुले आन्दोलन गरिरहनुभएको छ।’ नर्सहरुको समस्यामा समाधानमा नर्सिङ संघले सक्रियता देखाउनुपर्ने उनीहरुको माग छ ।

सरकारी आँकडा अनुसार नै ५० हजार भन्दा धेरै नर्स बेरोजगार भएको अवस्थामा यस्ता खालको अत्याचारको खबर भविष्यमा अझै धेरै देखिनेछ। यो स्थिति सम्हाल्न नीति निर्माण तह बाटै कदम चाल्नु पर्ने अवस्था आइसकेको देखिन्छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू