दहचोक–सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास : मन्त्री महासेठ

admin

काठमाडौँ, ९ चैत: भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले दहचोक सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास हुने बताउनुभएको छ । मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र सुरुङमार्ग शिलान्यास गरिने जानकारी दिनुभयो ।

विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त सुरुङमार्ग रु १७ अर्बको लगानीमा निर्माण हुन लागेको हो । मन्त्री महासेठले सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेत दिनुभएको छ । “कलङ्की–नागढुङ्गा सडकखण्ड पहिलेको तुलनामा सुधार आए पनि अबको केही महीनामा धुलोरहित बाटो बन्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै उहाँले कलङ्की–खड्कागाउँ–कङ्काली गुम्बा हुँदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरीक्षण गर्नुभयो । उक्त सडक रु १८ करोड २९ लाखमा निर्माण हुँदैछ । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि क्षेत्रलाई मुलुककै नमूना पर्यटकीयस्थल बनाउन लागिएको बताउँदै सांसद विकास कोषबाट आएको रकम चन्द्रागिरिको पर्यटकीय विकासका लागि खर्च गर्ने बताउनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययोजना नीतिनियम र विकासप्रति जनतामा अपनत्व हुने गरी स्थानीय सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया