भारतीय तीर्थयात्रीबाट रु आठ लाख राजश्व सङ्कलन

रिता घिसिंग

हुम्ला, १० जेठ : हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजाराँै तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।

शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार १०० राजश्व उठाउने गरेको छ ।

छ दिनमा हुम्ला भित्रिएका ७३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले रु आठ लाख छ हजार ३०० राजश्व सङ्कलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व सङ्कलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर आठ लाखभन्दा बढी राजश्व सङ्कलन भएको भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व रकम गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०÷४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो । दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो ।

गाउँमै अल्ट्रासाउण्डबाट बिरामीको उपचार
दुर्गम जिल्ला हुम्लाका ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्डबाट बिरामीको उपचार गरेका छन् । जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक सहयोगमा र जिल्ला अस्पताल हुम्लाको आयोजनामा डा दुर्गा सुर्खालीसहितको चार विशेषज्ञ टोली गाउँमै पुगेर उपचार गरेको सायाँ स्वास्थ्यचौकीका अहेव धर्मराज शाहीले जानकारी दिनुभयो । शिविरमा महिलाको पाठेघर, गर्भवती तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको अहेव शाहीले जानकारी दिनुभयो ।

अल्ट्रासण्डबाट सञ्चालन भएको शिविरमा सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका १७८ महिलाले स्वास्थ्य परीक्षण तथा सेवा लिएको सर्केगाड स्वास्थ्यचौकी इन्चार्ज सन्तोष धामीले बताउनुभयो । सिमकोटमा रहेको जिल्ला अस्पतालबाट सर्केगाड ल्याइएको अल्ट्रासाण्डबाट शिविरमा बिरामीले सुविधा पाएको वरिष्ठ अनमी बोहराले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया