सनिल र सुमनको जोडीलाई यलकप उपाधि

admin

काठमाडौँ, १८ कात्तिक : नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १० औँ यलकप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलमा उपाधि जित्न सफल भएको छ । पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगितामा सनिल र सुमनको जोडीले आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ तथा २१–१५ ले पराजित गर्दै विजयी भएको हो ।

दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य तथा सन्दीप शाक्यको जोडी संयुक्त रुपमा तेस्रो भए । सनिल र सुमनको जोडीले रनिङ ट्रफीका सात रु ३० हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थान हात पार्ने ससिन र सुमितले रु २० हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुने राजु र सुमित तथा रत्नकाजी र सन्दीपले रु १०÷१० हजारका साथै पदक, ट्रफी र प्रमाण पत्र हात पारे । यू–१५ एकल प्रतिस्पर्धामा नागबहालका सहज शाक्य प्रथम भएका छन् । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथि २१–१५, १३–२१ र २१–१७ को जीत निकाले । तेस्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयाग पोखरीका पुजन चित्रकार रहे ।

यस्तै मिक्स युगलतर्फ दथुलंका राज बज्राचार्य र यास्ना डङ्गोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भयो । नागबहालका सुमन शाक्य र प्रकृति शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले तेस्रो स्थान प्राप्त गरे । यू–१५ र मिक्सतर्फका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश ः रु १०, सात र चार हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । भेट्रान्सतर्फको प्रतिस्पर्धामा मङ्गलबजारका वीरेन्द्रलाल श्रेष्ठ र किशोर व्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । सो जोडी नागबहालका सुदिम शाक्य र प्रवीण शाक्यको जोडीलाई २१–१७, २४–२२ ले पाखा लगाउन सफल भयो ।

प्रयाग पोखरीका पूर्णभक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले कास्य जित्यो । विजयी तीन स्थानकाले शिल्ड, ट्रफी तथा प्रमाणपत्रका साथै रु १५, १० र पाँच हजार हात पारे । विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया