स्वरेकका सुन्तालामा सुनौलो भविष्य

शर्मिला गुरुङ

पोखरा, १८ मङ्सिर : विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ ।

युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी बिक्री गर्दै आउनुभएको छ ।

पोखरासहितको बजारमा अत्यधिक माग हुने गरेको स्वरेकका सुन्तला बिक्रीका लागि विगतमा डोकोमा बोकेर लैजानुपर्ने भए पनि अहिले भने घरघरबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । “मेरो बगैँचामा अहिले २५० बिरुवा छन्, यी सबै फल्यो भने पाँच लाखभन्दा बढी आम्दानी गर्न सक्छु,” उहाँले भन्नुभयो, “स्वरेक असपासका क्षेत्रमा सुन्तला खेतीको धेरै सम्भावना भए पनि अझै सर्वसाधारण यसतर्फ आकर्षित बनेका छैनन् ।”

प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकलाई नेपाल सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका सूचीकृत गरेसँगै यसले यहाँका स्थानीयवासीमा ठूलै आशा जगाएको छ ।

बढ्दो पर्यटकको आगमनसँगै सुन्तलासहित यहाँ उत्पादित फलफूल तथा तरकारीले यही नै बजार पाउने सम्भावना रहेको उहाँले बताउनुभयो । एक छोरा, दुई छोरीका अभिभावक पाण्डेले व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै शिक्षादीक्षा गराइसक्नुभएको छ । रोजगारीको खोजीमा विदेशिएका युवालाई व्यावसायिक सुन्तला खेतीका साथै अन्य कृषिजन्य उत्पादनले खुशी र सुखी जीवनयापन गर्न सकिने दरिलो प्रेरणाको स्रोत पाण्डे बन्नुभएको छ ।

“यहाँ सुन्तला खेतीका साथै कोदो, मकै, भटमास आदिको राम्रो उत्पादन हुन्छ”, उहाँले थप्नुभयोे, “बाटोको सुविधासमेत भएका कारण उत्पादित वस्तुले बजार पाउँदैन कि भन्ने चिन्ता कति लिनुपर्दैन ।”

पाण्डेलाई व्यावसायिक कृषिका लागि श्रीमती नेत्रकुमारी पाण्डेले दैनिक सघाउँदै आउनुभएको छ । श्रीमतीको प्रेरणा एवं सहयोगले आफूलाई अझै क्रियाशील बनाउने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

उत्पादित सुन्तालाको बजार मूल्य राम्रो भए पनि कृषकले पाउने मूल्य भने निकै कम रहेको कृषकको गुनासो छ । “बजारमा उपभोक्ताले प्रतिकिलो रु १०० सम्म तिर्नुपरेको वास्तविकतामा हामीले यहाँबाट प्रतिकिलो रु २५ देखि ३० मा बेच्नुपरेको छ”, दुःखेसो व्यक्त गर्दै उहाँले भन्नुभयो, “कृषकले मूल्य पाएका छैनन् नै उपभोक्ता पनि नराम्रोसँग ठगिएका छन् ।” कृषक र उपभोक्ताले सही मूल्य पाउने गरी बजारको व्यवस्थापनमा सरकारको चासो जानु आवश्यक छ ।

स्याङ्जामा सुन्तलाको व्यावसायिक खेतीको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनसमेत सञ्चालनमा आएको छ । उक्त कार्यालयका अनुसार यसै वर्षको असोज २१ गते परेको असिनाका कारण यस वर्ष स्याङ्जा जिल्लामा लगभग रु दुई करोडको सुन्तला नष्ट भएको छ ।

प्राकृतिक प्रकोपका कारण कृषकले भोग्नुपर्ने नोक्सानीलाई दृष्टिगत गरी राज्यले उचित राहत दिनुपर्ने कृषक बताउँछन् । स्याङ्जाको स्वरेक पर्यटकीयस्थल मात्र नभई कृषिजन्य उत्पादनका दृष्टिले उर्बर भूमि भएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।

पर्यटकीयस्थल स्वरेकमा सुन्तलालगायतका फलफूल र तरकारी खेतीको पर्याप्त सम्भावना हुने भएकाले यहाँका युवा रोजगारीको खोजीमा विदेशिनु नपर्ने उहाँले बताउनुभयो । “युवालाई यहीँ आकर्षित गर्ने सरकारले पनि कार्यक्रम ल्याउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “स्वरेकका सुन्तलामा सुनौलो भविष्य छन्, यसको भरपुर उपयोगको वातावरण तयार गरिनुपर्छ ।” वासुदेव पौडेल, रासस

प्रतिक्रिया