अनिश्चितता बढ्यो, फाइजर एमआरएनए कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह

admin

एजेन्सी, २ माघ : चीनका स्वास्थ्य विशेषज्ञहरूले नर्वे र अन्य देशमा फाइजर जस्ता कम्पनीहरूले बनाएको एमआरएनए आधारित कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह गरेका छन् । यो खोप लगाएका नर्वेका २३ जना पाको उमेरका व्यक्तिको ज्यान गएपछि खोपको सुरक्षा अनिश्चिततालाई लिएर प्रयोग स्थगित गर्न चीनका स्वास्थ्य विशेषहरूले आग्रह गरेका हुन् ।

‘नयाँ एमआरएनए खोप हतारमा विकसित गरिएको थियो र संक्रामक रोग रोकथामका लागि ठूलो संख्यामा यसको प्रयोग गरिएको थिएन र यसको सुरक्षालाई लिएर मानिसको ठूलो समूहमा प्रयोगको पुष्टि गरिएको थिएन’, एक चिनियाँ इम्युनोलोजिस्टले भने । नर्वेमा भएको मृत्युका घटनाहरूले पनि एमआरएनए कोभिड-१९ खोपको प्रभावकारिता अपेक्षा गरेअनुसार राम्रो नभएको विशेषज्ञले बताएका छन् ।

बिहीबारसम्म नर्वेमा खोपसँगको सम्बन्धमा २३ जनाको ज्यान गएको छ । ‘अहिलेसम्म यीमध्ये १३ को मूल्याङ्कन गरिएको छ । सामान्य साइड इफेक्ट्सले वृद्ध व्यक्तिमा गम्भीर समस्या देखिन सक्छ’, नर्वेको मेडिकल एजेन्सीको वेबसाइटमा भनिएको छ । सबैको मृत्यु कमजोर अवस्थामा रहँदा भएको र ती नर्सिङ होममा रहेका ८० देखि ९० वर्षभन्दा माथिका वृद्ध भएको नर्वेको सञ्चारमाध्यम एनआरकेले जनाएको छ ।

नर्वेमा दुई कोभिड-१९ खोप बायोटेकरफाइजर र मोडेर्ना प्रयोग गरिएको छ । यी खोप एमआरएनए प्रविधिमार्फत बनाइएको र युरोपेली सङ्घले अस्थायी रुपमा प्रयोगका लागि अनुमोदन गरिएको एजेन्सीले जनाएको छ । नर्वेमा डिसेम्बरको अन्त्यमा ठूलो सङ्ख्यामा खोप लगाउने अभियान चलाइएको थियो, जसमा वृद्ध र नर्सिङ होममा रहेका ८५ वर्षभन्दा माथिका व्यक्ति पहिलो प्राथमिकतामा थिए ।

प्रतिक्रिया