अन्नपूर्ण हिमालको पदमार्गमा आश्रयस्थल निर्माण गरिने

रिता घिसिंग

जेष्ठ २३, म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा मिस्त्रीखोला क्याम्पमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । एक्यापको रु १० लाख सहयोगमा नारच्याङका बासिन्दाले श्रमदान गरेर आश्रयस्थल बनाएका हुन् । यस वर्ष पनि एक्यापको थप रु १५ लाख अनुदान सहयोगमा छोटेपा र आधार शिविरमा १५÷१५ जना क्षमताका दुई आश्रयस्थल भवन बनाउन लागिएको छ ।

आश्रयस्थल निर्माण भएपछि ओडारमा बास बस्नुपर्ने समस्याको अन्त्य हुने निर्माण समितिका अध्यक्ष चन्द्रजित पुनले बताउनुभयो । यसअघि भरिया ओडारमा बास बस्ने गरेका थिए । पर्यटक भने टेन्ट लगेर पदयात्रामा जाने गर्छन् । हिमपात, हिमआँधी आएको अवस्थामा स्थायी प्रकृतिका भवन भएपछि सुरक्षित आश्रय लिन सकिने भएको छ । नारच्याङ गाउँदेखि तीन दिनको पदयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर ओझेलमा परेको पर्यटकीयस्थल हो । फ्रान्सका मौरिस हर्जोगले ६९ वर्षअघि आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेल परेको छ।रासस

प्रतिक्रिया