अपत्यारिलो तर तीतो यथार्थ, ११ वर्षिया बालिकाले जन्माइन् बच्चा, आफ्नै आमाबुबाले गर्छन् हेला [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। २०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। 

स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण देखिन्छ। 

गाउँकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग विवाह गरेकी भावनाले यतिखेर कष्टपूर्ण जीवन बिताइरहेकी छिन्। 

सामान्यतया शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्क भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ।

एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ परेको छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्। 

मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बितेको र बाबुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए।

गेरुवा गाउँपालिका- ४ की वडा सदस्य जयभेला भेरीकारले उनीहरुको सामाजिक सहजीकरणमा भूमिका खेल्दै आएकी छन । ग्रामीण समाजमा आउने अपहेलना विरुद्ध उनले वकालत गर्दै आएको बताइन्। 

वडा सदस्य भेरीकारले सुरुमा छिमेकीले खानपिन गराएको र अहिले उनकी आमाले खाना दिने गरेको बताइन्। भावनाको विवाह पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहारसुसार नभएको उनको ठम्माइ छ। उनले भनिन्,’ सुत्केरी आफैलाई स्याहार्न त मुस्किल छ, शिशुको कसरी रेखदेख गर्छिन ?’ कुनै मनकारीले उनको पढाइ, स्वास्थ्यलगायत बासस्थानको व्यवस्थापन गरिदिए ठूलो पुण्य हुनेथियो।’ , उनले थपिन्। 

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू