अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हाले जो बाइडेन, ट्रम्पका केही नीति उल्टियो

admin

एजेन्सी, ८ माघ : विश्वकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति एक महिनाअघि निर्वाचित भएका हुन् ।

उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । जो बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन् । बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए । सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ । सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएको जनाइएको छ ।

७८ वर्ष पार गरिसकेका बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति एक महिना अघि नै तय भए पनि अमेरिकाको परम्पराअनुसार जनवरी २० तारिकमा शपथ लिने गरिन्छ । अमेरिकाको लोकतान्त्रिक इतिहासमा आफै सरकार प्रमुख भएर चुनावी परिणाम अस्वीकार गर्दै सत्ता छाड्न अनाकानी गरेका डोनाल्ड ट्रम्प सामान्य बिदाइ प्रक्रियाबाट घर फर्के । ट्रेनबाट ह्वाईट हाउस आएर शपथ लिने तयारी गरेका बाइडेनलाई सुरक्षाका कारण पुरानै परम्परागत शैलीमा आएर सपथ ग्रहण गरे ।

सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गरे । अमेरिकी इतिहासमा संसारकै सुरक्षित मानिएको अमेरिकी संसदमा निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा आक्रमण भएपछि पहिलो पटक सुरक्षा घेराबीच सपथ ग्रहण सम्पन्न भयो । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेको कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ ।

अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उनले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । यस्तै उनले जारी गरेको अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् ।

यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिएका छन् । यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । उनी आफ्नी श्रीमतीसहित हेलिकप्टरमा चढेर फ्लोरिडा गएका हुन् । निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरु आक्रमणमा समेत उत्रिएका थिए ।

यसैगरी राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषदलाई अमेरिकी इतिहासकै समावेसी भनिएको छ । जसमा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन् । त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन् । कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन् । बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन् ।

राष्ट्रपति बाइडेनको पहिलो निर्णयहरु
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धी बाइडेनले १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको समाचार एजेन्सीहरुले जानएको छ । बाइडेन संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनु पर्नेछ ।

त्यस्तै बाइडेनले हस्ताक्षर गरेको अर्को कार्यकारी आदेश कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने सन्दर्भको रहेको छ भने अर्को कार्यकारी आदेश पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने रहेको छ। जुन पेरिस संझौतालाई ट्रम्प प्रशासनले खारेज गरेका थिए । बाइडेनले घोषणा गरेको अमेरिकामा रहेका कागजपत्रविहीनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउने अपेक्षा गरिएको छ ।

बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह पनि गरेका छन् । डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध पनि बाइडेनले हटाउने जनाइएको छ । बाइडेनलाई दुवै सदनमा काम गर्न अबको दिनमा सजिलो हुने भएकोले उनले घोषणा गर्ने कार्यक्रमहरु कार्यन्वयनमा आउनेछन् । दुवै सदन सिनेट र कंग्रेस दुवैमा उनको पार्टी डेमोक्र्याटको बहुमत पुग्नेछ ।

सपथ ग्रहणमा को को सहभागी भए ?
डोनाल्ड ट्रम्प सहभागी नभएपनि सपथ ग्रहण कार्यक्रममा रिपब्लिकनका सबै वरिष्ठ नेता तथा उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी करेन पेन्स भने सहभागी भएका थिए । पूर्वराष्ट्रपतिहरु बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस पनि सपत्नी सपथग्रहण समारोहमा सहभागी भएका थिए । स्वास्थ्य अवस्थाका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सहभागी नहुने सुचना दिएका थिए ।

जनवरी ६ मा भएको दंगाफसादपछि बाइडेनको सपथग्रहण समारोहलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। वासिंटन डिसीमा संकटकाल लगाइएको छ भने २० हजार सेना परिचालन गरिएको थियो । सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता अपनाइएको थियो । अमेरिकी ईतिहासमा यस्ता घटना विरलै हुने भन्दै ट्रम्प र उनको योजनामा भएको भनिएको घटनालाई विश्वभरबाट आलोचना भईरहेको छ ।

लोकतान्त्रिक व्यवस्था बलियो भए लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको प्रयासहरु त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याउँछ भन्ने कुरा यसपटक अमेरिकी भुमिका पुष्टि भएको छ । यो घटनाको एउटै पाठ छ – लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन् भन्ने कुरा अमेरिकी घटनाबाट पुष्टि भएको छ ।

ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति भए र उनले प्रत्येक वर्ष पाउने दुई लाख डलर निवृत्तिभरण, १० लाख डलर यातायात खर्च र अन्य सुविधा खोसिनेछ । त्यति मात्र होइन, भविष्यमा उनले कहिल्यै सार्वजनिक जिम्मेवारीको पदमा समेत बस्न पाउनेछैनन् । उनले २०२४ मा फेरी राष्ट्रपतिमा उठ्ने योजनामा पनि ठेस पुगेको बताइएको छ ।

प्रतिक्रिया