अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति नै अहिलेको समस्या हो, पार्टी एकताको रक्षा गरौं : प्रवक्ता श्रेष्ठ

admin

काठमाडौं, २६ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अहिले देखिएको समस्याको बारेमा पनि बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै पार्टीको उद्देश्य लोकतन्त्रको अभ्यास गर्नु र गराउनु रहेको बताएका हुन् ।

श्रेष्ठले भनेका छन्, लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो । ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो ।’

यो परिपाटीले समस्या समाधान नभइ झन् जटिल बनाउने भन्दै नेता श्रेष्ठले यसतर्फ सजग गराएका छन् । उनले पार्टी एकताको रक्षा गर्दै, सामाजिक/आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठको फेसबुक पोस्ट यस्तो छ :-
​‪कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो । अतस् नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ ।

अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास ,संगठनको व्यवस्थापन, परिचालन एवं ‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक ,सैद्धान्तिक, राजनीतिक , प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।

हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठाँउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन बरु जटिल बनाउँछ ।

त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौँ र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक/आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬

प्रतिक्रिया