आजदेखि काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा पढाइ सुरु

admin

काठमाडौं, ४ माघ : आइतबारदेखि काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् ।

ललितपुर जिल्लाका धेरै पालिकाले आइतबारदेखि विद्यालय सञ्चालन भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आइतबारदेखि सबै विद्यालय खुलेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।

काठमाडौं जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाडौं महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आइतबार छलफल गर्दैछ । काठमाडौंमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ । विद्यालय खोल्ने अन्तिम तयारी गरिएको भए पनि जनस्वास्थ्यविद्हरुले भने जोखिम नघटेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले संक्रमण पूर्ण रूपमा हट्न नसकेकोले शिक्षक बिद्यार्थीले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया