आजबाट प्रत्येक ५ बर्षमा लाग्ने चर्चित गढीमाईको मेला शुरु

मनिषा थापा

बारा : आज (आइतबार) बाट प्रत्येक पाँच बर्षमा लाग्ने बारास्थित गढीमाईको मेला शुरु भएको छ । बलीका लागि प्रसिद्ध गढीमाईको मेला एक महिनासम्म चल्नेछ । बारोको सिम्रौनगढ नगरपालिका वडा नम्बर-१ स्थित बरियापुरमा लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ ।

गढीमाईको मेलामा हजारौं राँगा, बोका, कुखुराको बली चढाइने छ । बलीका लागि मेला समितिले बधशाली बनाउने तयारी गरेको छ भने बधशालामा राँगाको मात्र बली चढाइने छ । अन्य पशुपंक्षीको बली भने मन्दिर परिसर र वरपरको क्षेत्रमा हुने बताइएको छ ।

मेलाका लागि ७२ सदस्यीय मूल ब्यवस्थापन समिति र १४ उपसमिति बनाइएको छ । मेला ब्यवस्थापन समितिका अनुसार मंसिर १७ र १८ पशुबलीका लागि तयारी गरिएको छ । समितिका अनुसार एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनहरुले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।

मेलालाई भव्य तथा सव्य बनाउन कडा सुरक्षा ब्यवस्था पारिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणीन्द्रमणी पोखरेलले एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।

मेलालाई सुरक्षित बनाउन ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको जानकारी दिए । एक महिने मेलामा सुरक्षाका लागि ड्रोनबाटसमेत निगरानी हुने व्यवस्था समितिले जनाएको छ ।

प्रतिक्रिया