आज २३औं भूकम्प सुरक्षा दिवस, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने

admin

काठमाडौं, २ माघ : ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित (आज) शुक्रबार २३औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो ।

यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेको कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहेका छन् ।

नगरपालिकाको उपसंयोजनमा दिवसको आयोजना गर्न लागिएको हो । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिका छन् । उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाएर बाढी पहिरोले क्षति गरेका हजारौँ घर पुनर्निर्माण गर्न यसै हप्ता कार्यविधि पारित गरिएको समेत बताए ।

प्राधिकरणले जोखिमको जानकारी गराउन विपद् पोर्टलमा राख्ने व्यवस्था, बाढी र पहिरोको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य सुरु गरिसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ  । प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया