आमाको नागरिकता सच्याउँदा छोरो पुगे प्रहरी खोरमा

admin

सुनसरी, ८ साउन : नागरिकतामा भेटिएको त्रुटी सच्याउन पुगेका एक युवाले प्रहरी थुनामा रात बिताउनु परेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आमाको नागरिकतामा फरक परेको जन्म मिति सच्याउन जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका कोशी गाउँपालिका वडा नम्वर ३ का इसराफिल मन्सुरीले प्रहरी थुनामा रात बिताउनु परेको हो ।

नागरिकताको प्रतिलिपी बनाउँदा फरक परेको जन्म मिति सच्याउन वडागत सिफारिस लिई प्रशासन पुगेका इसराफिललाई शंकास्पद गतिविधि गरेको भन्दै प्रशासनका कर्मचारीले प्रहरीको जिम्मा लगाएका हुन् ।आफ्नो काम गरिदिन आग्रह गर्दा कर्मचारीले झुलाएर फर्काएको बताउने इसराफिलले पूनः दोहो¥याएर सोध्न जाँदा कर्मचारीहरु आफूमाथि अभद्र शैलीमा प्रस्तुत भएको बताए । कर्मचारीहरुको रुखो र अभद्र व्यवहारलाई मोबाइलमा रेकर्डिङ गर्दै गर्दा नियन्त्रणमा लिएर कर्मचारीले केरकार गरेको बताउने इसराफिलले आफूलाई प्रहरीको जिम्मा लगाई रातभर थुनामा राखेको बताए ।

प्रहरीले नियन्त्रणमा लिई रातभर खोरमा राखेको बताउने इसराफिलले नागरिकता बनाउँदा वा सच्याउन आउँदा प्रहरी खोरमा रातभर बिताउनु परेकोमा न्याय हराएको भान भएको बताए । प्रहरीले समेत आफ्नै गल्ती देखाएको बताउने उनले उक्त घटनाका कारण आफू तनावमा रहेको बताए । प्रहरीले उनलाई बिहान मात्रै आफन्तको जिम्मा लगाएको थियो ।

आफूलाई पीडितको मित दिदी बताउने मञ्जु सरदारले कर्मचारीको गल्ती हुँदाहुँदै सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नु परेकोमा आक्रोस पोखिन् । स्वयं कर्मचारीले गल्ती गरेको सरासर देखिएको छ । तर सजाय भने सेवाग्राहीले पाउनु पर्ने कहाँको न्याय हो भन्दै उनले प्रश्न गरिन् । थुनामा राखिएको विषयमा प्रहरीले भने प्रशासन कार्यालयबाट कर्मचारीमाथि युवकले अभद्र व्यवहार गरेको भन्ने प्राप्त खबर र सम्वन्धित वडाध्यक्षको आग्रहमा एकरात थुनामा राखिएको जनाएको छ ।

प्रशासनको नागरिकता फाँटका कर्मचारीले भने युवकको गतिविधि शंकास्पद देखिएको र भिडियो रेर्कडिङ गरी कर्मचारीमाथि जाइलागेकाले प्रहरीको जिम्मा लगाइएको बताएका छन् । इसराफिल आमा लजमा खातुनको नागरिकतामा उल्लेखित जन्म मिति गलत भएको भन्दै सच्याउन जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । २०६३ फागुन १५ गते बनाएको नागरिकतामा लजमाको जन्म मिति २०२५ बैशाख ६ गते उल्लेख छ । २०७५ असोज १५ मा जारी भएको प्रतिलिपिमा भने लजमाको जन्म मिति २०४५ बैशाख ६ गते लेखिएको छ ।

लजमाको जेठो छोरोले आमाको नागरिकता आवश्यक परी खोजि गर्ने क्रममा आमाको जन्म मिति आफू भन्दा चार बर्ष मात्र बढी भएको पाएपछि आश्चर्यमा परेको बताए ।नागरिकताको प्रतिलिपीमा त्रुटी रहेको ठहर भएपछि सच्याउने क्रममो कोशी गाउँपालिका वडा नम्वर ३ को सिफारिससहित प्रशासन कार्यालय पुगेका भाई प्रहरी खोरमा बस्नु परेकामा उनले दुखेसो व्यक्त गरे ।

प्रतिक्रिया