उपनिर्वाचन २०७६ : नेपाली सेनाद्वारा गस्ती

राष्ट्रिय समाचार समिति

भीमदत्तनगर, १३ मङ्सिर :शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकका सह–सेनानी कृष्ण भण्डारीको नेतृत्वमा सेनाको टोली बुधबारदेखि नै खटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थल सुरक्षार्थ सेनासँगै नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार पुर्नवास–३ मा एक हजार १९९ मतदाता छन् । सो वडाको गोरखा आधारभूत विद्यालयमा ‘क’ र ‘ख’ गरी दुई मतदान केन्द्र तोकिएको छ । यसअघि तत्कालिन वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया