एक गर्भवती महिलामा सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुग्यो

admin

काठमाडौं, १४ जेठ : हेटौँडा उपमहानगरपालिका- १ चौकी टोल घर भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमितको संख्या ७ सय ८३ पुगेको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उनमा कोरोना पुष्टि भएको हेटौँडाको कर्रामा रहेका आइसोलेशन इन्चार्ज भोला चौलागाईँले जानकारी दिएका छन् ।

गत जेठ ९ गते कोरोना सङ्क्रमणको लक्षण देखा परेपछि कोरोना जाँचको लागि ल्याबमा दिइएको थियो । तर उनी त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाईँले बताए ।

हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताए । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्रोतले जनाएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले पनि जानकारी दिइन् ।

यस्तै, नेपालमा सङ्क्रमणबाट निको हुनेको संख्या एक सय ७६ रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

प्रतिक्रिया