एमालेको बैठक सुरु, खनाल-नेपाल समूहको स्पष्टीकरणबारे छलफल

admin

काठमाडौं, १० बैशाख : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । शुक्रबारको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

गत बैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयको अवज्ञा गरेको भन्दै यसअघि २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।

आफूहरुमाथि कारवाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ । यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि शुक्रबारको बैठकमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । बिहीबार र बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एक्लाएक्लै भेटवार्ता गरेको भए पनि कुनै प्रगति हुन सकेको छैन । खनाल-नेपाल समूहले यसअघिका एकलौटी निर्णय सच्याउनुपर्ने माघ अघि सार्दै आएको छ । बिहीबार र बुधबारको ‘वान टू वान’ बैठकमा नेपालले पहिलेकै अवस्थामा फर्कन आग्रह गरेपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पछाडि फर्कन नसक्ने बताएपछि कुरा मिल्न नसकेको हो ।

प्रतिक्रिया