एमाले स्थायी समिति बैठक सकिनासाथ किन शीतल निवास लागे प्रधानमन्त्री ओली ?

admin

काठमाडौं, २३ बैशाख : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बोलाएको एमाले स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

file photo

बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गदै ज्ञवालीले भने, ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

उक्त बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससँगको बुधबारको भेटलगायतका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा बैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

यस्तै बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै यो गठबन्धनले राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको हो । बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन् ।

उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन् । माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

बिहीबार स्थायी कमिटी बैठक बिहान १० बजेलाई बोलाएपनि केही ढिलागरी सुरु भएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । प्रधानमन्त्री ओली शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया