कक्षा १२ को परीक्षा दशैं अगावै, त्रिविका परीक्षा निर्धारित समयमै

admin

काठमाडौं, ७ भाद्र : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् ।

कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए ।

राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए । सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गरे ।

सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

त्रिविका परीक्षा निर्धारित समयमै
त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो ।

निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी लिखित रूपमा नै विश्वविद्यालयलाई सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो । विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा दिएका हुन् ।

स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी संख्या न्यून भएकाले परीक्षा सञ्चालनमा कुनै समस्या नभएको जानकारी नियन्त्रक जोशीले दिए ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले विश्वविद्यालयको परीक्षा कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया