काठ तस्कर र वन समितिका पदाधिकारी बिच खुकुरी हानाहान, तीन जना घाइते

admin

भद्रपुर (झापा), भदौ २६ : काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जानकारी दियो ।

घाइते हुनेमा कनकाई नगरपालिका २ बस्ने ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर पौडेल र ३६ वर्षीय विनोद राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।

तस्कर समूहको खुकुरी प्रहारबाट डम्बरबहादुरको टाउको र बायाँ हात काटिएको, मेघबहादुरको दुवै हातको पाखुरा काटेको, शरीरको विभिन्न भागमा चोट लागेको र विनोदको टाउको, चिउँडो र बायाँ हत्केला काटेको छ। घाइते तीनै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने ।

उनका अनुसार कनकाई नगरपालिका २ स्थित घनुषकोटी भन्ने ठाउँमा नाम थर नखुलेका काठ तस्कर समूहले इलामको तीर बाट काठ तस्करी गरी ल्याउँदै गरेको सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले थाहा पाएपछि उनीहरू काठ नियन्त्रणका लागि बुधवार साँझ ८ बजे गएका थिए।

काठ नियन्त्रणका क्रममा दुवै पक्ष बिच झडप हुँदा काठ तस्कर समूहले वनका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार पश्चात् काठ तस्कर फरार भएका छन। घटनाको विषयमा थाहा पाए लगतै इलाका प्रहरी कार्यालय सुरुङगा र इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेका थिए। खुकुरी प्रहार गर्ने काठ तस्कर समूहको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया