कोरोनाको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाउँदै

admin

काठमाडौं, ३ चैत : विश्वभर कोरोना भाइरसको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ । अहिले कोरोना भाइरसको नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।

कोरोना भाइरसको नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले तीन हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

ह्याकरहरुले विश्व स्वास्थ्य सङ्गठनको लोगोसमेत दुरुपयोग गरी कोरोनाबारे जानकारी भन्दै कम्प्युटर भाइरस फैलाइरहेको क्यास्पर्स्कीले जनाएको छ ।

व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अंग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ह्याकरहरुले समाचारजस्तो लाग्ने फिशिङ अर्थात इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारी तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने गरेका छन् । यसले कोरोनाको त्राससँग जोडेर डरलाग्दो अफवाह फैलाएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया