कोरोनाबाट विश्वभर ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

admin

काठमाडौं, ११ असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार पुगेका छ । कूल संक्रमितमध्ये दुई करोड ४४ लाख १२ हजार निको भएका छन् भने करिब ७६ लाख ५० हजार मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७२ लाख ८७ हजार नाघिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख ९२ संक्रमित भएका छन् भने यहाँ ९४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

प्रतिक्रिया