कोरोना संक्रमणदर बढेर १६ प्रतिशतसम्म पुग्यो

admin

काठमाडौं, २७ चैत : स्कुले बालबालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।

काठमाडौं, पोखरालगायतका ठूला सहरका विद्यालयमा संक्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए । यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा संक्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ । भारतसँग खुला सिमानाका रहेकाले नेपालमा संक्रमणको जोखिम धेरै छ । नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया