कोरोना संक्रमणबाट चितवनमा दुई जनाको मृत्यु

admin

चितवन, २ असोज : कोरोना संक्रमणबाट चितवनमा उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड-१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो । स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिए । हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चितवनका मात्र १७ जना रहेका छन् ।

प्रतिक्रिया