खच्चड चराउँदै, सुन ओसार्दै

admin

गोरखा, साउन १० : धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको खच्चड व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो । यो समाचार आजको अन्नपुर्णपोष्टमा छ ।

असार ११ गते राति गुरुङ आफ्ना गोठालासहित बेसी झर्दै थिए । गोठालाले मालिकले सुन ल्याएको सुराकी केही युवालाई दिए । सुन ल्याइरहेका गुरुङमाथि आक्रमण भयो । धनकमल खच्चडको भारी फुकाएर आक्रमणकारीबाट बच्न सफल भए । उनले सुन पनि लुकाउन भ्याए । आक्रमणको घटनाबारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो । आक्रमणकारी भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्ये तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य ६ जना फरार छन् ।

धनकमल भने यसबीच तीन फेर परिवारको सम्पर्कमा तथा खोर्लाबेसीमा देखा परिसकेका थिए । उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । सुनका मुख्य कारोबारी तिब्बती नागरिक भएको र प्रमुख भरिया छेकम्पारका बासिन्दा भएको अनुमान छ । १६ किलोग्राम सुनसहित एक महिनादेखि फरार धनकमललाई प्रहरीले बिहीबार धार्चे गाउँपालिका–३ बाट पक्राउ गरेको छ । गोरखाका एसपी ओम अधिकारीका अनुसार खोर्लाबेसीको जंगलको ओढारमा लुकाई–छिपाई राखेको १६ किलोग्राम सुन पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धनकमलले चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट खच्चडमा बोकाएर सुन ल्याएको स्वीकार गरेका छन् ।

उनले काठमाडौंसम्म पु¥याउने योजनाका साथ सुन ल्याएको बयान दिएको एसपी अधिकारीले बताए । ‘जमिनभित्र झोला र सलमा बेरेर बोराभित्र राखेको अवस्थामा सुन भेटियो’, अधिकारीले भने । उनले सुन राजस्व अनुसन्धान विभागमा पठाइने बताए । ‘सुन राजस्व अनुसन्धान विभागमा बुझाउँछौं’, एसपी अधिकारीले भने, ‘अबको मुद्दा चलाउने, अनुसन्धान गर्ने काम बिभागले नै गर्ने छ ।’

रसुवागढी र तातोपानी नाका व्यवस्थित बन्दै गएपछि तस्करले गोरखा नाका प्रयोग गर्न थालेका छन् । गोरखाको रुइला र ङुइला नाका हुँदै अवैध ओसारपसार बढ्न थालेको हो । पछिल्लो पटक छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट भित्रिएको १८ किलोमध्ये १६ किलोग्राम सुन बरामद भएको छ । यसअघि २०७५ भदौ २३ गते चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले १० किलोग्राम सुन बरामद गरेको थियो । पाँच–पाँच किलो सुन बोकेर आएका चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षका डुण्डुप लामा र २८ वर्षका लोप्साङ पेम्बे लामालाई फिलिमबाट प्रहरीले पक्राउ गरेको थियो । २०७४ कात्तिक १६ गते लम्जुङको खुदीबाट १७ किलो सुनसहित पासाङ लामा पक्राउ परेका थिए ।

प्रतिक्रिया