खाद्यान्नमा उपभोक्ता ठग्ने क्रम बढ्यो

admin

काठमाडौं, १२ माघ : खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ । सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् ।

६२ फर्मलाई निर्देशन तथा १६ फर्मलाई स्पष्टीकरण सोधिएको छ । मनलाग्दी मूल्य र म्याद नाघेका वस्तु बेच्ने फर्मलाई गरिएको कारबाही र जरिवानाबाट ४४ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको विभागका सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिए ।

५४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको छ । उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको पनि विभागले जनाएको छ ।

गएको पुसमा महिनामा खाद्यान्नसहित विभिन्न २८ विषयगत क्षेत्रका ३ सय ५१ फर्मको अनुगमन गरिएको थियो । तीमध्ये खाद्यान्नसहित १ सय ९ फर्म कारबाहीमा परेका छन् । १ सय ६८ फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । ६६ फर्मलाई स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अण्डा तथा दाना, अस्पताल, उद्योग, कपडा तथा कस्मेटिक पसल, किराना तथा खाद्यान्न, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसीको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया