खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री नेम्माङको निर्देशन

राष्ट्रिय समाचार समिति

भरतपुर, २२ मङ्सिर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिनुभएको छ । आज सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिनुभयो । उहाँले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै जिम्मेवार भएर लागे कामले गति लिन्छ, तपाईहरु आफैँ सक्षम हुनुहुन्छ, यतिमात्रै हो, जिम्मेवारीलाई गहनपूर्वक लिनुप¥यो ।” उहाँले सबै कर्मचारी अग्रसर भएर काम गर्नुपर्छ भन्ने भावनाबाट अघि बढ्नुपर्ने बताउनुभयो । “पछिल्लो समय सडकका काम कारवाहीप्रति प्रश्न चिह्न उठ्ने गरेको छ”, उहाँले भन्नुभयो’ “अबका दिनमा यस्तो अवस्था नआओस् ।”

उहाँले काममा निर्धक्क भएर खटिए हरेक योजना तोकेको समयभन्दा अगावै सम्पन्न हुने धारणा राख्नुभयो । “काम गर्दै जाँदा जटिलता आउन सक्छन्, सानातिना कुरामा नीति पर्खने होइन, आम जनतालाई साक्षी राखेर काम गर्नुहोस्”, उहाँले भन्नुभयो ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको चितवन र धादिङ खण्ड मर्मतको काम डिभिजन सडक कार्यालय भरतपुरबाट हुने गरेको छ । पृथ्वी राजमार्गको ८२ किलोमिटर र त्रिभुवन राजपथको ४२ किलोमिटर सडकमा नियमित मर्मत भइरहेको छ । मोफसललाई काठमाडौँ जोड्ने मुख्य यो सडक विस्तारको प्रक्रिया पनि अघि बढेको छ । सो क्रममा मन्त्री लामाले भरतपुरको बाइपास सडकको समेत निरीक्षण गर्नुभएको छ ।

यस्तै मन्त्री नेम्वाङले नारायणगढ–मुग्लिन सडक, पृथ्वीराजमार्ग र त्रिभुवन राजपथकोसमेत निरीक्षण गर्नुभएको छ । डिभिजन प्रमुख कृष्णराज अधिकारीले कार्यालयको प्रगति विवरणबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया