खेलकूदका माध्यमबाट समृद्धि हासिल गरिने : मन्त्री सुनुवार

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १३ भदौ : युवा तथा खेककूदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा) ले खेलकूद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक आएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “खेलकूदको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको प्राथमिकता रहेको छ, देशको प्रतिष्ठा उँचो बनाउन खेलकूदको थप अभिवृद्धि गर्नु जरुरी छ ।”

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिकोे आजको बैठकमा विधेयक संशोधनकर्ता सांसदले उठाउनुभएको विभिन्न जिज्ञासाको जवाफ दिँदै मन्त्री सुनुवारले विधेयकले खेलकूद परिषद्को कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेलकूदको थप पूर्वाधार विकास गरिने र पर्यटकीय तथा साहसिक खेलकूदको विकास र विस्तार गरिने जानकारी दिँदै खेलकूदलाई राजनीतिक विचारभन्दामाथि उठाउने प्रतिबद्धतासमेत जनाउनुभयो । समितिका सदस्य दिव्यमणि राजभण्डारीले विधेयकमाथि संशोधन प्रस्तुत गर्दै खेलकूद परिषद्को सट्टा खेलकूद प्राधिकरण बनाउन, परिषद्का उपाध्यक्षभन्दा कार्यकारी निर्देशक बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “खेलकूद क्षेत्रलाई राजनीतिक आस्था, विचार र प्रभावभन्दा माथि उठाउन जरुरी छ ।”

समितिका अर्का सदस्य विमला विश्वकर्माले विधेयकले समावेशीतामा ध्यान नदिएको चर्चा गर्दै खेल मिलेमतो गर्ने खेलाडीमाथि कारवाहीको दायरा बढाउन माग गर्नुभयो । प्रस्तावित विधेयकले खेल मिलेमतो गर्ने खेलाडीलाई एक वर्षसम्म कैद र रु एक लाखसम्मको जरिवानाको प्रावधान राखेको छ । समितिका सदस्य जीवनराम श्रेष्ठले खेलकूद क्षेत्रलाई अझ विकास र विस्तार गर्न लगानी बढाउन आवश्यक रहेकोमा जोड दिँदै लगानीले मात्र राम्रो नतिजा निकाल्न सक्छ भन्नुभयो । राष्ट्रियसभाबाट पारित भइआएको सो विधेयकमाथि १५ संशोधन परेको छ ।

प्रतिक्रिया